धनगढी – कैलाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीद्वारा आयोजित वक्तृत्व कला प्रतियोगितामा अरुणिका जोशी प्रथम भएकी छन् ।
शुक्रबार कैलाली बहुमुखी क्याम्पसमा आयोजित उक्त प्रतियोगितामा अरुणिका जोशीले प्रथम स्थान हात पारेकी हुन् ।
“महिला हिंसा र यसले समाजमा पार्ने प्रभाव” र “युवा, राजनीति र समाज रुपान्तरण” गरि दुई शिर्षकमा भएकाे प्रतियोगिताको आयोजना अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केएमसीले गरेको हो ।
प्रतियोगितामा पुष्पा बुढाले द्वितीय स्थान हात पारेकी छन् । त्यस्तै तृतीय स्थान भने दिव्या पन्त, प्रविण चन्द र किरण बुचा मगरले हात पारेका छन् ।
कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक गणेशराज जोशी, क्याम्पसका उप–प्राध्यापक डा. मानबहादुर जोरा र क्याम्पसका उप–प्राध्यापक सिद्धराज पण्डित प्रतियोगिताको निर्णायक मण्डलमा रहेका थिए ।
कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयराज भट्टको प्रमुख आतिथ्यता रहेको उक्त प्रतियोगितामा अखिल क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष मिलन भाट ‘म्याक्स’को अध्यक्षता रहेको थियो ।
विद्यार्थीको क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले गरिएको वक्तृत्व कला प्रतियोगितामा ५५ जनाको सहभागिता रहेको कार्यक्रमका संयोजक बिनोद अधिकारी ‘हलचल’ले बताएका छन् ।





