काठमाडौँ ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियामा देखापरिरहेको जलवायु परिवर्तनको असरलगायतका विविध साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेकी छन् ।
बिहीबार नयाँदिल्लीमा प्राज्ञहरुसँग शिष्टाचार भेटका लागि पुगेका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक के.के.अग्रवालसँग उनले सो आग्रह गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा सो विश्वविद्यालयका अध्यक्ष प्राध्यापक अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपाल क्याम्पस स्थापना गर्न प्रस्ताव गरेका छन् ।
सो विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था पनि छ ।





