धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि १५ दिनदेखि ठप्प रहेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट पास गर्न नसकेपछि प्रदेशमा आर्थिक गतिविधि शून्य रहेको हो ।
बजेट र यससँग सम्बन्धित ऐनहरू पास भएपछि मात्रै नयाँ आवमा राजस्व सङ्कलन र खर्च गर्न पाइन्छ । आर्थिक विधेयक पास नहुँदा राजस्व सङ्कलन र विनियोजन विधेयक पास नभएका कारण खर्च रोकिएको छ ।
आर्थिक ऐन र विनियोजन ऐन नभएका कारण राजस्व सङ्कलन र खर्च शून्य रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले बताए । “अहिले प्रदेशका मन्त्रालय र सम्बन्धित कार्यालय भौतिक रूपमा मात्रै चलेका छन्,” उनले भने, “आर्थिक रूपमा कुनै पनि निकाय चलेको छैन । आर्थिक गतिविधि ठप्प छ ।”
राजस्व सङ्कलन र खर्च रोकिए पनि भौतिक रूपमा प्रदेश सरकार मातहतका निकाय सञ्चालन भइरहेका छन् । सबै निकाय उधारो चलिरहेको जनाइएको छ ।
प्रदेश बेखर्ची भएको अवस्थामा आफ्नो कार्यालय पनि उधारोमा चलिरहेको सूचना अधिकारी पाण्डेयले बताए ।





