गुलरिया (बर्दिया)। बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृ*त्यु भएको छ ।
गुलरिया नगरपालिका-५ बालापुर बस्ने ६ वर्षीया बालिका सायरा थारूको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
मृतक बालिका बिहान उठेर घर छेउको शौचालय जाँदै गर्दा चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरि केही पर लगेपछि घरका अभिभावक र छिमेकीले हल्ला गरेर उनलाई छुटाएका थिए ।
बालिकाको उद्धार गरि तत्काल बर्दिया अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै जिल्ला अस्पताल बर्दियाका चिकित्सकको टोलीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवम् सुचना अधिकारी चक्र बहादुर डम्बरपालले बताए ।
सायराको घर बालापुरस्थित जङ्गलको छेउमा रहेको छ । पछिल्लो समयमा बर्दियामा गाउँबस्तीमा छिरेर चितुवाले आक्रमण गर्ने क्रम बढ्दै गएको छ ।





