धनगढी :प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देशकै बेइज्जत गरेको आरोप लगाएको छ।
बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद रेखा शर्माले बलियो सरकार भनिएको सरकारले गभर्नर नियुक्त गर्न किन नसकेको? भन्दै प्रश्न गरेकी हुन्।
‘दुई तिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण के होला? गभर्नर नियुक्तिको विषयमा बाहिर जुन स्थिति देखिएको छ,’ उनले भनिन्, ‘सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिलेर अथवा विभिन्न कारणले गभर्नर नियुक्त भएको छैन भन्ने कुरा बाहिर आएको छ । यसले राष्ट्रको बेइज्जत भइरहेको छ।’
उनले राष्ट्रको बेइज्जत नगर्न र योग्य व्यक्तिलाई गभर्नर बनाउन आग्रह गरिन्। ‘गभर्नर नियुक्त गर्न नसक्ने सरकारले राष्ट्रकै बेइज्जत गर्यो’ उनले भनिन्।





