काठमाण्डौं :प्रहरीले दमन गरेको भन्दै शिक्षकहरूले आन्दोलन थप सशक्त बनाउने भएका छन्।
आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले अन्तिम लडाइँका लागि अनिवार्य काठमाण्डौं आउन देशभरका शिक्षकलाई आह्वान गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा नआएकाहरुलाई कर्तव्यबोध गर्दै काठमाण्डौं आउन अपिल गरेका छन्। ‘काठमाण्डौं आउन बाँकी रहेका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीहरुको रगत बगिसक्दा पनि अझै तपाईंहरु घरमै बसिरहन कसरी सकेका छौ रु के आन्दोलनकारी साथीको पीडाले तपाईँलाई घोच्दैन रु आफ्नो कर्तव्यबोध हुँदैन रु’ सुवेदीले सामजिक सञ्जालमार्फत् आह्वान गरेका छन्, ‘यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाण्डौं आउनुहोला।’
सुवेदीले आफूहरू अन्तिम लडाइँंमा रहेको र यसमा सबैको सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गरेका छन्। महासंघले आइतबारे बेलुकी विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमनको विरोधमा आफूहरूसँगै उभिन सबै पेशागत संस्था, शिक्षा सरोकार समूहलगायतलाई आग्रह गरेको थियो।
आइतबारको झडपमा पाँच प्रहरी र एक पत्रकारसहित २६ जना घाइते भएको प्रहरीले जनाएको छ। महासंघले भने ६२ जना शिक्षक कर्मचारी घाइते भएको र तीमध्ये एक दर्जनको अवस्था चिन्ताजनक रहेको दाबी गरेको छ। महासंघले आज पनि बिहान ११ बजेदेखि माइतीघर–बानेश्वर क्षेत्रमा आन्दोलनको कार्यक्रम जारी रहने महासंघले जनाएको छ। अग्रगामी विद्यालय शिक्षा ऐनविना आफूहरू कार्यक्षेत्रमा नफर्किने महासंघका अध्यक्ष सुवेदीले बताए।





