कञ्चनपुर –गुगुल्डि वाङमय प्रतिष्ठान, कञ्चनपुर तथा बुलन्दी साहित्यिक सेवा समिति भारतको संयुक्त आयोजनामा नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न भएको छ ।
शनिबार महेन्द्रनगरमा आयोजित सम्मेलनमा नेपाल तथा भारतका एक सय बढी साहित्यकारहरूको सहभागिता रहेको थियो ।
गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द विश्रामको अध्यक्षता तथा सुदूरपश्चिम विश्वविद्यालयका प्रा. डा. मुकुन्द कलौनीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा पञ्चमराज भट्टले डोटी तथा कुमाउको सास्कृतिक सम्बन्धबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने गोष्ठी सत्रमा ५ दर्जन बढी कविहरूका रचना वाचन गरिएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सचिव जगदीश ओझाले गुगुल्डि साहित्यिक मासिक पत्रिकाको इतिहास तथा योगदान एवम् नेपाल भारत साहित्यिक सम्मेलनको उद्देश्य प्रस्तुत गर्दै सहभागिहरूको स्वागत गरेका थिए।
साहित्यकार रमेश पन्त मीतवन्धुले उदघाटन सत्र, कविराज भट्ट तथा बुलन्दी साहित्य सेवा समिति अध्यक्ष विवेक वादल बाजपुरीले काव्य गोष्ठी सत्रको कार्यक्रम सञ्चालन गरेका थिए। सोही समारोहमा साहित्यकार मण्रिाज जोशी र धर्मराज जोशीलाई क्रमसः गुगुल्डि न्वाकी सम्मान र कौसल्या कुमारी देवी, कर्णबहादुर सिह स्मृति सम्मानद्वारा सम्मानित गरिएको थियो।
कार्यक्रमकै अवसरमा साहित्यकार दिलानन्द पन्तका छोरा लोकराज पन्तले एकलाख पच्चिस हजारको साहित्यिक पुरस्कार अक्षयकोष स्थापनार्थ रकम गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द विश्रामलाई हस्तान्तरण गरेका छन् ।
काव्य गोष्ठीका अवसरमा आयोजक संस्थाहरूका तर्फबाट नेपाल तथा भारतका ६० जना साहित्यकारहरूलाई साहित्य गौरव सम्मान प्रदान गरिएको थियो। पुस्तान्तरण तथा युवा प्रोत्साहन गर्न २ दर्जन बढी विद्यार्थीहरूले रचना वाचनको अवसर प्राप्त गरेको उक्त कार्यक्रममा तीन जना साहित्यकारहरूलाई गुगुल्डि वाङमय प्रतिष्ठानको सदस्यता प्रदान गरिएको थियो ।
डोटेली भाषाको साहित्यिक मासिक पत्रिका गुगुल्डिले निरन्तर प्रकाशनका २७ वर्ष पुरा गर्दै गरेको र हालै भाषा आयोगबाट समेत सम्मानित पत्रिकाको तथा यस क्षेत्रको भाषा साहित्य, कला संस्कृतिको प्रवर्द्धनका लागि स्थापित गुगुल्डि वाङमय प्रतिष्ठानले साहित्यिक माध्यमबाट नेपाल भारतको सम्बन्ध सुदृढ गर्ने तथा साहित्यकारहरूको बिचमा साहित्यिक सास्कृतिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सचिव जगदीश ओझाले बताए ।
काव्य गोष्ठीमा नेपाली, हिन्दी, डोट्याली, लगायतका भाषामा प्रस्तुत भयेका गीत, गजल, कविता, मुक्तक, लोकगीतहरूले कार्यक्रम मनोरञ्जक तथा प्रेरक रहेको साहित्यकार मीना पन्तले बताइन् ।





