धनगढी ।कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको काम पूरा गर्न ढिलाइ भइरहेको छ ।
बजेट अपुगका कारण थप गरिएको समयमा पनि हुलाकीको काम पूरा गर्न सम्भव नभएको हो ।
हुलाकी स्तरोन्नतिको कुल लागत एक अर्ब ६१ करोड रुपियाँ रहे पनि सरकारले एकमुस्ट बजेट उपलब्ध गराएको छैन ।
चालु आर्थिक वर्षमा ३२ करोड रुपियाँ हुलाकी राजमार्ग स्तरोन्नतिका लागि पठाइएको थियो । जसमध्ये २२ करोड रुपियाँ गत आवकै बक्यौता भुक्तानीमा सकिएको हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ ।
सो कार्यालयका अनुसार अब दसैँसम्म काम गर्नका लागि पनि बजेट छैन । बाँकी रहेको १० करोड रुपियाँले केही दिन मात्रै काम हुने आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर बर्ख कठायतले बताए।





