काठमाडौँ । आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन भएकी बङ्गलादेशकी निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदले बेलायतमा शरण नपाउने भएकी छन् ।
बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन भएकी हसिनाले बेलायतमा शरण दिनका लागि अपिल गरेकी थिइन् ।
उनको अपिलप्रति बेवास्ता जनाउँदै बेलायत सरकारले शरणका लागि अन्यत्र विकल्प खोज्न सुझाएको छ ।
बङ्गलादेशमा उत्पन्न हिंसात्मक परिस्थितिको जिम्मेवार कुनै न कुनै रूपमा हसिना भएको लक्षित गर्दै भविष्यमा हुने अनुसन्धानका कारण बेलायतमा अपेक्षित सुरक्षा प्रदान गर्न नसकिने बेलायतको विदेश मन्त्रालयले प्रस्ट पारेको छ ।
बेलायत सरकारले बङ्गलादेशमा घटित घटनाको संयुक्त राष्ट्रसङ्घले स्वतन्त्र अनुसन्धान गर्नुपर्ने धारणा यसअघि नै दिएकाले पनि हसिनालाई त्यहाँ शरण लिन अप्ठ्यारो परेको हो ।





