जाजरकोट । जाजरकोटमा साल्मा खोलाको पक्की पुल निर्माण चार वर्षदेखि अलपत्र परेको छ ।
छेडागाड नगरपालिका–१ र ४ जोड्ने साल्मा खोलामा पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले बिचैमा काम छोडेपछि करिब चार वर्षदेखि अलपत्र परेको हो ।
छेडागाड नगरपालिका, जुनीचाँदे, कुसे गाउँपालिकाका अधिकांश बासिन्दालाई यातायातमा सहजता ल्याउन छेडागाड नगरपालिकाले पहिलो कार्यकालमा साल्मा खोलामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट करिब ८० लाखभन्दा बढी रकम खर्च गरी कजवे निर्माण गरेको थियो ।
असारमा निर्माण गरेको कजवे साउनको भेलले बगाएपछि बर्खाको समयमा सर्वसाधारणले सहज रूपमा आवतजावत गर्न पाएका थिएनन् । यहाँका बासिन्दाको माग अनुसार पूर्वाधार विकास कार्यालयले साल्मा खोलामा पुल निर्माण गर्न नेपाल मेघा सिस्ने जेभी नेपालगन्जसँग २०७८ साल असोज २९ गते सम्झौता गरेको थियो ।
चार करोड ८८ लाख एक हजार रुपियाँमा २०८० साल माघ २८ गते सम्पन्न गर्ने जिम्मा लिएको निर्माण व्यवसायीले दुई वटा पिल्लरको काम गरेर बिचमै छोडेर अलपत्र परेको छ ।





