फूलबारी । सीमा सुरक्षार्थ स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) कार्यालय बाढीका कारण विस्थापित भएको छ ।
मोहना नदीमा आएको बाढीका कारण सशस्त्र प्रहरी बल नेपाल बिओपी विस्थापित भएको हो । लल्लीपुरमा रहेको बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञराज भट्टराईको कमान्डमा १८ जनाको टोली खटाइएको थियो ।
विस्थापित सशस्त्र प्रहरी स्थानीय सामुदायिक भवनमा बस्दै आएको छ । सीमा सुरक्षा गर्ने उद्देश्यले २०७८ साउन १८ गते लल्लीपुर बिओपी स्थापना भएको हो । मोहना नदीको बाढीले बिओपी प्रतीक्षालय, सेन्ट्री पोस्ट र आँगन बगाइसकेको छ ।
लल्लीपुर बिओपी स्थापना भएपछि सीमा क्षेत्रमा हुने चोरी तस्करीसमेत नियन्त्रणमा आएको स्थानीयको भनाइ छ । यसअघि सो क्षेत्रबाट दैनिक जसो नेपाली नागरिकको घरमा चोरी, डकैती र लुटपाट हुने गरेको थियो ।





