बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित बर्थिङ सेन्टर (प्रसूति केन्द्र) बन्द हुँदा स्थानीयलाई समस्या भएको छ ।
पालिकाले बजेट अभावको कारण देखाउँदै यहाँका आम्चोरा, रोडीदेवल र वडा नम्बर १ मा गरी चार वटा केन्द्र बन्द गरेपछि समस्या भएको हो ।
स्वास्थ्यचौकीबाट टाढा रहेका बस्तीलाई लक्षित गरी सञ्चालन गरिएका केन्द्र बन्द गरिएपछि समस्या भएको स्थानीयवासीले बताएका छन् ।
स्वास्थ्यजस्तो संवदेनशील क्षेत्रमा सेवा विस्तार गर्नुपर्नेमा भएकै सेवा बन्द गरिनु दुखद भएको स्थानीय कलावती चन्दले बताइन् ।
गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले भने स्वास्थ्यचौकीबाट गुणस्तरीय सेवा प्रदान गरिने योजनाअनुसार अन्य स्थानमा रहेका प्रसूति केन्द्र बन्द गरिएका बताएका छन् ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर शाहले पनि बजेट अभावका कारण ती केन्द्र बन्द गरिएका जानकारी दिए ।
यहाँ छवटा स्वास्थ्यचौकीबाहेक थप चार स्थानबाट प्रसूति सेवा प्रदान हुँदै आएको थियो । गाउँपालिकाका सबै ठाउँमा सडकको पहुँच पुगिसकेकाले अब गर्भवती महिलालाई एम्बुलेन्समार्फत नजिकको स्वास्थ्य संस्थामा ल्याएर प्रसूति सेवा दिइने योजना रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले बताए । रासस





