मुम्बई– मुम्बईमा भएको आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा धनगढी क्रिकेट एकेडेमी (डीसीए) फिनिक्स स्पोर्ट्स क्लबसँग पराजित भएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको डीसीए २५ ओभर ३ बलमा अलआउट हुँदै ८५ रनको सामान्य लक्ष्य प्रस्तुत गर्न बाध्य भयो।
डीसीएका लागि रमित कार्कीले १९ बलमा १३ रन बनाए। रमित टमाटाले २३ बलमा १० रन जोड्दा कप्तान प्रयाग भट्टले १७ बलमा ७ रन बनाए।
हिमाल बोहोराले २० बलमा ८ रन, युवराज कुँवरले ९ बलमा १ रन, समिर बमले १३ बलमा २ रन, राजु ऐरले ११ बलमा ११ रन, राहुल वडले २७ बलमा ८ रन तथा सुशिल बोगटीले १० बलमा ६ रन बनाए।
८५ रनको लक्ष्य पछ्याएको फिनिक्स स्पोर्ट्स क्लबले मात्र १० ओभरमै लक्ष्य पूरा गर्दै सहज जित हात पार्यो।
फिनिक्सका वर्षीत कनुकार र अर्जुन कोट नटआउट रहँदै टोलीलाई जित दिलाए।
क्रिकेट प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले डीसीएको टोली केही दिनअघि मुम्बई पुगेको हो। भ्रमणका क्रममा टोलीले मुम्बईका विभिन्न ६ स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।
त्यसैगरी टोलीले मुम्बईस्थित वाङ्खडे स्टेडियममा नेपालसहित विभिन्न देशहरूबीच हुने विश्वकप क्रिकेटका खेलहरू प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम पनि रहेको डीसीएका म्यानेजर सन्दीप भट्टले जानकारी दिएका छन्।
यस भ्रमणले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय वातावरणमा खेल्ने अनुभव, सीप विकास तथा आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।





