धनगढी, ६ माघ। विज्ञान, प्रविधि तथा व्यवस्थापन अभ्यासका क्षेत्रमा केन्द्रित ‘उदीयमान विज्ञान, प्रविधि र व्यवस्थापन अभ्यास’ (ETSTMPs–2026) विषयक पहिलो राष्ट्रिय सम्मेलन धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा दुईदिने कार्यक्रमपछि सफलतापूर्वक सम्पन्न भएको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ऐश्वर्य बहुमुखी क्याम्पसअन्तर्गतको रिसर्च म्यानेजमेन्ट सेलद्वारा आयोजित तथा विश्वविद्यालय अनुदान आयोग (यूजीसी) नेपालको सहयोगमा सम्पन्न सम्मेलनको समापन समारोह क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न भयो।
समारोहका प्रमुख अतिथि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिल कुमार जोशीले सम्मेलनले अनुसन्धान, नवप्रवर्तन र शैक्षिक–औद्योगिक सहकार्यलाई संस्थागत गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले विज्ञान, प्रविधि र व्यवस्थापनलाई समाजको आवश्यकता अनुसार अघि बढाउन यस्ता सम्मेलन निरन्तर आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा. खेमराज जोशीले सम्मेलनले सुदूरपश्चिम क्षेत्रमा अनुसन्धान संस्कृतिको विकास र अकादमिक उत्कृष्टताका लागि नयाँ सम्भावनाको ढोका खोलेको उल्लेख गर्नुभयो।
समापन समारोहमा सहायक क्याम्पस प्रमुख रघुविर भट्टले धन्यवाद मन्तव्य राख्दै सम्मेलन सफल बनाउन सहयोग गर्ने सबै अतिथि, सहभागी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी तथा आयोजक टिमप्रति आभार व्यक्त गर्नुभयो। क्याम्पस प्रमुख नरेश पन्तले सम्मेलनबाट प्राप्त निष्कर्ष र सिफारिसहरूले आगामी दिनमा शैक्षिक अनुसन्धान, प्रविधि विकास तथा व्यवस्थापन अभ्यासलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो।
देशभरका अनुसन्धानकर्ता, शिक्षाविद्, विद्यार्थी तथा नीति निर्माणसँग सम्बन्धित व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको सम्मेलनले सुदूरपश्चिम क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।





