बझाङ ।राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९औँ जन्मजयन्तीको अवसरमा बझाङमा दुई महत्वपूर्ण पुस्तक विमोचन गरिएको छ ।
शनिबार जयपृथ्वी नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले डा. स्टेफन लुइडद्वारा लिखित ‘विश्वबौद्धिक इतिहासमा जयपृथ्वीबहादुर सिंह’ र जयपृथ्वीबहादुर सिंहकै कृति ‘श्रेस्तादर्पण’ सार्वजनिक गरे ।
डा. स्टेफन लुइडले लेखेर मिनबहादुर सिंहद्वारा प्रकाशित विश्वबौद्धिक इतिहासमा जयपृथ्वीबहादुर सिंह पुस्तकमा राजा सिंहको जीवन परिचय, निर्वासनमा बिताएका कठिन दिनहरू, शिक्षा, मानवतावादी दृष्टिकोण र सभ्यतागत योगदानलाई विश्व बौद्धिक इतिहाससँग जोड्ने प्रयास गरिएको छ ।
त्यस्तै, श्रेस्तादर्पण पुस्तकमा तत्कालीन श्री ३ र श्री ५ सरकारका प्रशस्तिपत्र, चौतरिया र रजौटाका लिखत, पत्राचार शैली, तथा जयपृथ्वीबहादुर सिंहले आफैंले तयार पारेका ऐतिहासिक दस्तावेज संकलन गरिएको छ ।
पुस्तक विमोचनपछि बोल्दै पूर्वमन्त्री जोशीले यी दुवै कृतिहरू इतिहासको अभिलेख मात्र नभई हालको राजनीतिक, सामाजिक र शैक्षिक परिवेशमा पनि महत्वपूर्ण हुने टिप्पणी गरेका छन् ।
उनले जयपृथ्वीबहादुर सिंहका विचार र योगदानलाई भावी पुस्ताले अध्ययन र आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए । विमोचन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, साहित्यकार, शिक्षक, पत्रकार, विद्यार्थीलगायतको उत्साहजनक सहभागिता रहेको थियो ।





