काठमाण्डौं :सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ।
बिहीवार काठमाण्डौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले यो घोषणा गरेका हुन्। उनले सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताए।
लागुऔषधलाई नियन्त्रण गर्नका लागि सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्ने जानकारी दिए। गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरू बनाएर काम गरिरहेको पनि गृहमन्त्री लेखकको भनाइ छ।
उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको बताए। देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषधको दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेको बताए।
गृहमन्त्री लेखकले मन्त्रालयमा आफू आइसकेपछि लागुऔषध नियन्त्रणमा धेरै चासो दिएर काम गरिरहेको बताए। लागुऔषध आफैँमा एउटा समस्या रहेको र यसले समाजमा अरु समस्या पनि सिर्जना गरिरहेको बताए।





