काठमाण्डौं :सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोधबारे विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपासँग छुट्टाछुट्टै छलफल गरेका छन्।
आइतबार बिहान रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सभामुखले अलग–अलग छलफल गरेका हुन्।
रास्वपा कार्यवाहक सभापति अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको भन्दै अवरोधको स्वरूप बदल्न आग्रह गरे। सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराए।
रास्वपा कार्यवाहक सभापति अर्यालले आफूहरूको अवरोध जारी रहने अडान दोहोर्याउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाए। गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादा विपरीतका गतिविधि भएकोबारे आइतबार बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए।
यस्तै सभामुखले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन आग्रह गरेका थिए। अध्यक्ष लिङ्देनसँग टेलिफोन गर्दै सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका हुन्।





