काठमाण्डौं –सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको संसद् अवरोध छिट्टै हट्ने बताएका छन् ।
सदन खुलाउन संसदीय समिति बनाउनेबारे छलफल भइरहेको र एक र दुई दिनमै संसदको अवरोध खुल्ने उनको विश्वास छ । मन्त्री गुरुङले सत्ता पक्ष र प्रतिपक्षीका दलहरुबीच निरन्तर छलफल भइरहेको जानकारी दिए ।
आज मन्त्रालयमा पत्रकारका जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी दलहरुले अवरोध खुलाउनेबारे पछिल्ला छलफल केन्द्रित रहेको जानकारी दिए ।
सञ्चारमन्त्री गुरुङले अख्तियारले कर्मचारीमाथि छानबिन गर्दा मन्त्रीले नै राजीनामा दिनुपर्छ भनेर विपक्षीले उठाएको माग अनूचित भएको समेत बताएका छन् । सहमति जुट्न नसक्दा निरन्तर स्थगित प्रतिनिधि सभाको बैठक आजका लागि बोलाइएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन । रासस





