काठमाण्डौं : नेपाल शिक्षक महासंघले सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन निर्माणमा षड्यन्त्र भइरहेको भन्दै आशंका व्यक्त गरेको छ।
मंगलबार विज्ञप्ति जारी गरी महासंघले सहमति अनुसार ऐन बनाउन सरकारको ध्यानाकर्षण गरेको छ।
‘विगतका सहमतिको अवस्था के छ ? कतै आम शिक्षक कर्मचारीको भावना र विगतका सहमति माथि षडयन्त्र त हुँदै छैन भन्ने जस्ता सन्देह पैदा भइरहेका छन्’, अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
सुवेदीले विद्यालयका शिक्षक(कर्मचारीको हकहित माथि हुने कुनै पनि खालका षडयन्त्र स्वीकार नगर्ने बताएका छन्। ‘नयाँ ऐन जारी हुने परिस्थिति निर्माण गर्ने पक्षमा महासङ्घ हिजो जसरी डटेको थियो आज पनि त्यसरी नै डटिरहेको छ’, विज्ञप्तिमा भनिएको छ।








