काठमाण्डौं – मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाण्डौंको बबरमहल जलमग्न भएको छ ।
आज दिउँसो पाइप फुटेर पानी बगेपछि विशेष अदालत र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । कार्यालयमा राखिएका गाडी र मोटरसाइकल डुबेका छन् । बबरमहलमा सडकसमेत भासिएको छ । यातायात पनि प्रभावित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको आयोजनाले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ रोकिएको छ । अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।
यस्तै पानीको भेल पस्ने डरले काठमाण्डौंको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरक्षा बढाइएको छ । अस्पतालमा नेपाल प्रहरी, नेपाली सेना, महानगर प्रहरी गरेर झन्डै २ सय जनाको सुरक्षा टोली खटिएको काठमाण्डौं महानगरपालिकाले जनाएको छ ।





