धनगढीःगृहमन्त्री रमेश लेखकले संसदमा विचाराधीन अवस्थामा रहेको शिक्षा ऐन चाँडै बन्ने बताएका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिको चौथो अधिवेसनको सोमवार धनगढीमा उद्घाटन गर्नुहुँदै उनले यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले शिक्षा ऐन आएपछि निजी, संस्थागत, आवासीय विद्यालयको सुरक्षा सरकारले गर्ने बताए। उनले भने, तपाईहरुको लगानी खेर जान दिइन्न। लगानीलाई सुरक्षित गरिन्छ। तपाईहरु पनि राम्रो हुँदै जानुपर्छ। तपाईहरुले आफै सुधार गर्नु भएन भने हस्तक्षेप गर्नुपर्ने ठाउँमा सरकार पुग्छ।
नेपालको शिक्षा क्षेत्रमा निजी, आवासीय तथा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान रहेको लेखकको भनाइ थियो। उनले सामुदायिक विद्यालयलाई राम्रो बनाउने र निःशुल्क शिक्षा दिने काम सरकारको रहेको उल्लेख गर्दै संस्थागत, निजी र आवासीय विद्यालयका कारण सामुदायिक विद्यालयको स्तर नघटेको बताए।
उनले भने, त्यसैले दुईटै किसिमको विद्यालयलाई जुधाउनुको कुनै औचित्य छैन। प्रतिस्पर्धा गराउने आवश्यकता पनि छैन। शिक्षामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै गृहमन्त्रीले यसको संरक्षण गर्ने कुरामा सरकार स्पष्ट रहेको बताए।
उहाँले कमीकमजोरी सबै क्षेत्रमा रहेको उल्लेख गर्नुहुँदै भएका विकृति विसंगतिलाई ठीक गर्नुपर्ने औंल्याए। तपाईहरु आफू पनि अनुशासित हुनुपर्छ। सरकारले पनि तद्अनुरुप अनुगमन, विश्लेषण गर्नुपर्छु, उनले भने, तर मार्न पाइदैन। त्यसले राम्रो गर्दैन।
उनले निजी, आवासीय विद्यालयमा भएको लगानीले शिक्षाको गुणस्तर वृद्धि गरेको बताए। शिक्षाको गुणस्तर वृद्धिले हाम्रो जनशक्ति अन्तर्राष्ट्रिय जनशक्तिसँग प्रतिस्पर्धा गर्न तयार भएको लेखकको भनाइ छ। गृहमन्त्री लेखकले शिक्षा क्षेत्रमा मुलुक धेरै अगाडि बढेको बताए। एक छुट्टै प्रसङ्गमा उहाँले सरकारले नीतिगत र कानुनी सुधारमा प्राथमिकता दिएको बताए। यसैगरी, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले निजी विद्यालयले विद्यार्थी जनशक्ति र पुँजी पलायन रोक्ने काम गरेको बताए।





