काठमाडौं : गणपूरक संख्या नपुगेर सोमबार स्थगित प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठक मंगलबार बस्दैछ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न सोमबारका लागि बोलाइएको समितिको बैठकमा गणपूरक संख्या पुगेको थिएन। समितिमा २३ जना सदस्य रहेकोमा जम्मा ८ जना मात्रै उपस्थित थिए ।
विधेयकमाथि छलफलका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि बोलाइएको थियो। अर्थमन्त्री पौडेल पनि बैठकमा उपस्थित भएनन्। एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री पौडेल थाइल्याण्ड गएका छन्।
यस्तै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको पनि बैठक बस्दैछ। बिहान साढे ११ बजे बस्ने बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची छ। राष्ट्रिय सभाकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बोलाइएको छ।
निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ। छलफलका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीलाई बोलाइएको संसद सचिवालयले जनाएको छ।





