काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएलं) क्रिकेटमा पोखरा एभेन्जर्सले काठमाण्डौं गुर्खाजलाई १ सय ३९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो । पोखराका रेमोन रेफेरले नटआउट ४१, दिनेश खरेलले ३८ रन बनाए । काठमाण्डौंका कप्तान करण केसी र रशिद खानले ३र३ विकेट लिए ।
यो खेलमा विजयी हुने टोली प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ । पराजित हुने टोलीको पनि गणितीय सम्भावना कायमै रहनेछ । काठमाण्डौं ५ खेलमा ४ अङ्कसहित छैटौं तथा समान अङ्कसहित पोखरा सातौं स्थानमा छ ।
एनपीएलमा आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज खेल्दैछन् । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । चितवन पनि क्वालिफायर पुग्ने सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ ।





