डडेल्धुरा । पूर्व प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उग्रतारा मन्दिरलाई प्राचिनशैलीमा पुनः निर्माण गर्न पहल गर्ने बताएका छन् ।
उग्रतारा भगवती मन्दिरको वार्षिक पूजाआजासहित लाग्ने भव्य मेला देहिजाँतमा शनिबार पुगेका देउवाले पछिल्लो समय कंक्रिट प्रयोग गरेर बनाइएको मन्दिरलाई प्राचिनशैलीमा पुनःनिर्माण गर्न पहल गर्ने बताए ।
उग्रतारा मन्दिरको कंक्रिट हटाई पुरानो रुप दिन पुरातत्त्व विभागले आर्थिक वर्ष २०७९/०८० मा एक करोड ६२ लाख रुपियाँ विनियोजन गरेको थियो।
तर प्राचिनशैलीमा मन्दिर निर्माण गर्ने निर्माण कम्पनी सुदूरपश्चिम प्रदेशमै नभएको र काठमाडौँमा मात्रै भएकाले ठेक्का सम्झौता हुन सकेका थिएन।
पुरातत्त्व विभागलाई बिना जानकारी उग्रतारा मन्दिरमा सिमेन्ट र कंक्रिटको प्रयोग गरेर पुनःनिर्माण गरेपछि पुरातत्त्व विभागले आफ्नो सम्पदा सूचीबाट उग्रतारा मन्दिरलाई हटाएको थियो।





