एक प्रश्न तिमीलाई,
तिमी को हौ?
सेतो वस्त्र भिरेर आयौ,
कसैले परी
कसैले विधवा भने!
मुसुक्क हाँस्यौ,
कसैले मुस्कान
कसैले बत्तीस गुणी भने!
जब रातो बन्यौ,
कसैले सिन्दुर
कसैले रगत भने!
आकाशमा उड्यौ,
कसैले आत्मा
कसैले बादल भने!
छविमा देखे,
कसैले कलाकार
कसैले पागल भने!
तिम्रो कविता पढे,
कसैले लेखक
कसैले झोले भने!
जब कालो भयौ,
कसैले अन्धकार
कसैले भविष्य भने!
बाटामा हिँड्यौ,
कसैले यात्री
कसैले छाया भने!
पानीमा बग्यौ,
कसैले अस्तु
कसैले खरानी भने!
अनुहारमा टप्कियौ,
कसैले आँसु
कसैले पसिना भने!
पानी पियौ,
कसैले प्यासी
कसैले गाग्री भने!
जब चोट बन्यौ,
कसैले दु:ख
कसैले मिहिनेत भने!
जब हल्लियौ,
कसैले मुटु
कसैले चट्याङ भने!
दाउरा भयौ,
कसैले चिहान
कसैले चुलो भने!
राम्रो गर्यौ,
स्वर्ग भने
नराम्रो गर्यौ,
नर्क भने!
जब तिमी मर्यौ,
कसैले पापी
कसैले धर्मी भने!
आखिर तिमी को हौ?
तिमी को हौ?
सर्जक : सुनिल बुढा (कछुवा)




