डोटी ।डोटीमा किवी खेतीप्रति स्थानीय किसानको आकर्षण बढ्दै गएको छ ।
जिल्लाका विभिन्न स्थानमा गरी करिब २८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६४.९६ मेट्रिक टन किवी उत्पादन भएको छ ।
बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका र आदर्श गाउँपालिकालगायतका स्थानमा किवी खेती गरिँदै आएको छ ।
कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख गङ्गादत्त अवस्थीका अनुसार पछिल्लो समयमा किवी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । कृषकको सङ्ख्या पनि बढ्दै छ ।
उनले भने, “आव २०७८/७९ सम्ममा नौ हेक्टर क्षेत्रफल जमिनमा किवी खेती गरिँदै आएको थियो । करिब ३५ मेट्रिक टन किवी उत्पादन हुने गरेको थियो । आव २०७९/८० मा २१ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएकोमा ४९.४ मेट्रिक टन उत्पादन भएको थियो ।”
आव २०८०/८१ मा बढेर २८ हेक्टर क्षेत्रफल जमिनमा किवी खेती गरिएको छ भने ६४.९६ मेट्रिक टन उत्पादन भएको छ । आर्थिक रूपमा अन्नबालीभन्दा फलफूल खेतीबाट किसानले बढी फाइदा लिन थालेका छन् ।
गत वर्ष किवीको बजार मूल्य दुई सयदेखि २५० प्रतिकिलोसम्म रहेको थियो । दुई सय प्रतिकिलो किवी बिक्री गर्न सके पनि फाइदा राम्रै हुने भनाइ किसानको छ । जिल्लामा ६० जनाभन्दा बढी किसानले किवी खेती गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।





